राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सरकार अप्ठ्यारोमा पर्दा संसद् विघटन हुनु सामान्य भएको बताएका छन् ।
पारिवारिक तथा निजी वन संघ नेपालको ९औं स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले संसद् विघटन दुनियाभरको अभ्यास भएको बताए ।
‘जनप्रतिनिधिमूलक संस्था ठिकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद् विघटन गर्ने दुनियाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो । नेपालमा पटकपटक विघटन भयो भनेर संविधानमा विघटन नै नगर्ने बनाऊँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ । आफूले ढंग पुर्याएर चलाउन नसक्ने अनि कागजातमा दोष दिएर कहीँ चल्छ,’ तिमिल्सिनाले भने ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुईपटक गरेको संसद् विघटन सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । विघटनलाई एमालेबाहेकका दलले प्रतिगमन भनेका थिए ।
अध्यक्ष तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको जिकिर समेत गरे ।
सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद् विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको उनको भनाइ छ ।

