भारतको दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया तथा पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेपछि आम आदमी पार्टीले आक्रामक रणनीति अपनाउने भएको छ ।
दिल्लीका विपक्षी दल भारतीय जनता पार्टी र कांग्रेसले मुख्यमन्त्री अरविन्द केजरीवालको आलोचना जारी राख्दा आपले पनि प्रत्याक्रमणको रणनीति बनाउन खोजेको छ ।
त्यसक्रममा आपले सिसोदियाको पक्राउको विरोध गर्दै उनको पक्षमा घरघरमा गएर हस्ताक्षर संकलन गर्ने अभियान आरम्भ गरेको छ । दिल्लीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रो काम भइरहेको र त्यसलाई रोक्नका लागि भाजपाले षड्यन्त्र गरिरहेको भन्दै त्यसको पर्दाफाशका लागि अभियान चलाइने आपको भनाइ छ ।
आपका नेता गोपाल रायले मन्त्रीहरू पक्राउ परेपछि विद्यालय र अस्पतालमा बढी असर परेको बताए । त्यसैले दिल्लीवासीहरूका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखिएको छ । त्यसमा केन्द्र सरकारलाई राम्रो काम गर्न अनि दिल्ली सरकारलाई पनि काम गर्न दिन भनिएको छ ।
हस्ताक्षर अभियानमा मानिसहरूलाई प्रधानमन्त्रीको नाममा लेखिएको पत्रमा साइन गर्न भनिएको छ । दिल्लीका २५० वार्डमा टोली खटाएर घरघर जाने अभियान आरम्भ गरिएको छ ।
घरघर गएर भाजपाको गलत कार्यको पर्दाफाश गरिने गोपाल राय बताउँछन् । भाजपाको तानाशाही केन्द्र सरकारले झूटो मुद्दा लगाएर शिक्षा तथा स्वास्थ्यमन्त्रीलाई जेल पुर्याएको उनको आरोप छ ।

