कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले आफू प्रधानमन्त्री चलाउन योग्य र सक्षम रहेको बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि थापाले आफूमा अहिलेका प्रधानमन्त्री र प्रधानमन्त्री बन्ने क्रममा रहेकासँग भन्दा राम्रोसँग चलाउन सक्ने आत्मविश्वास भएको बताएका हुन् ।
‘मैले त सरकारको नै लिड गर्न चाहेको हो । संसदीय दलको साथीले पत्याउनुभएको भए दलको नेता भएर प्रधानमन्त्री बन्थें । लिड गर्ने चाहना नभएको होइन । आत्मविश्वास नभएको पनि होइन । अहिले पनि म गठबन्धनको दलबाट प्रधानमन्त्री बन्नुभएका र प्रधानमन्त्री बन्न क्रमबद्ध रहनुभएकाहरू भन्दा राम्रोगरी चलाउन सक्छु भन्नेमा शतप्रतिशत विश्वास गर्छु । गर्न पनि सक्छु,’ थापाले भने, ‘तर पार्टीको प्रतिस्पर्धाभित्र परिणाम पाउन नसकेपछि मैले अरूलाई विश्वास गर्नुपर्छ ।’
तर, अब प्रधानमन्त्री बन्ने क्रमका लागि मात्रै भन्दा पनि के परिवर्तन गर्न सकिन्छ भनेर घोत्लिनुपर्ने उनले बताए ।
‘चुनावअघि हाम्रै सरकार थियो । त्यसपछि प्रचण्डजी आउनुभयो । अब के नयाँ अनुभूति गराउने भने भनेर घोत्लिनुपर्छ,’ थापाले भने, ‘के गर्न सरकार बनेको हो ? के डेलिभरी दिने ? भन्नेमा लाग्नुपर्छ । मन्त्रालयको भागबण्डा सँगसँगै सरकारको लक्ष्य के हो भन्नेमा बहस चलाउनुपर्छ । हामीसँग केही महिना मात्रै छ । सरकारमा जाने साथी पनि केही गर्छु भनेर जानुपर्छ । सदनमा सुविधाजनक बहुमत, संख्या र सुविधा हामीसँग हुने र तर नागरिकको आक्रोश अर्कोतिर हुँदा यसले हित गर्दैन । मैले तर्साउन खोजेको होइन । नागरिकका लागि काम गर्नुपर्छ भनेर बोलेको हुँ ।’
राष्ट्रपतिमा अपेक्षाअनुसार मत आएको भन्दै उनले सोही आधारमा संख्या र पार्टीको निर्णयले पनि उपराष्ट्रपतिमा जित्ने सहजै अनुमान लगाउन सकिने उनले बताए ।
उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाउन नसकिए पनि विश्वासको मतमा गठबन्धनमा आबद्ध दल एक ठाउँमा उभिने थापाले बताए ।
‘६ गते कांग्रेसले प्रमलाई विश्वासको मत दिन्छ । गठबन्धनको समझदारी जसरी कायम भएको छ । उपराष्ट्रपतिमा भिन्न मत भए पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिन राष्ट्रपतिको निर्वाचनमा भएका दल एक-एक ठाउँमा हुन्छन्,’ थापाले भने, ‘उपराष्ट्रपतिमा एक ठाउँमा नहुँदा पनि विश्वासको मतमा सल्लाहमै एक ठाउँमा रहने विश्वासले अघि बढेका हौं ।’

