राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले नचलाउने निर्णय गरेको छ ।
महान्यायधिवक्ताको कार्यालयले प्रहरीको राय र जिल्ला तथा उच्च अदालतको प्रतिवेदनअनुसार मुद्दा नचलाउने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिव रेग्मीले जनाएको हुन् । प्रवक्ता रेग्मीका अनुसार प्रहरी तथा जिल्ला सरकारी वकिल कार्यालयले राहदानीको दुरुपयोगको मनसाय नदेखिएको राय सहितको प्रतिवेदनका आधारमा निर्णय गरिएको हो ।
अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर राहदानी लिएको भए पनि लामिछानेलाई मुद्दा नलाग्ने निर्णय जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च अदालत सरकारी वकिलको कार्यालयले गरेका थिए ।
प्रधानमन्त्रीलाई विश्वास मत दिने सवालमा लामिछानेले आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए ।
प्रतिनिधिसभामा विश्वासको मत पेश हुनुअघि स्वतन्त्र पार्टी संसदीय दलका कार्यवाहक नेता डोलप्रसाद अर्याल महान्यायाधिवक्ता भेट्न कार्यकक्षमै पुगेका थिए ।

