महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई दशमलव नौ प्रतिशत विन्दुले बढी हो ।
यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था छ भने पूँजीगत खर्च निकै कम छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब पाँच करोड १६ लाख बराबर खर्च भएको देखिएको हो ।
चालू आर्थिक वर्षका लागि चालू शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो ।

