मंसिर ४ को निर्वाचनमा चितवन २ बाट ३४ हजार ३१२ मतान्तरले विजयी भएका रवि लामिछाने उपनिर्वाचनमा झन् बढी मतान्तरले जित्नेतर्फ अघि बढेका छन् ।
अघिल्लोपटिक ६७ प्रतिशत भोट खसेकोमा यसपटक ६० प्रतिशत हाराहारीमा मात्र भोट खसेको थियो । तर, कम भोट खस्दा पनि रविले पहिलेको भन्दा बढी मत पाउने देखिएको हो ।
७८ हजार २७७ मत खसेको चितवन २ मा रविले ४५ हजार ८४२ मत ल्याएर दोस्रो स्थानमा निक्कै तल रहेका कांग्रेसका जीतनारायण श्रेष्ठसँग ३७ हजार ४१७ मतान्तरको अग्रता लिइरहेका हुन् ।
गणना भएको ६२ हजार ५९६ मत उम्मेदवारले प्राप्त गरिसक्दा अब १५ हजार ६८१ मतगणना गर्न बाँकी छ । गणना गर्न बाँकी मत सबै ल्याउँदा पनि कांग्रेस र एमालेका उम्मेदवारले जित्न सक्ने अवस्था छैन ।
मतान्तर कम गर्न मात्रै उनीहरू प्रतिस्पर्धामा देखिएका छन् । गणना भएको मतमा रविले ७५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकि कांग्रेस र एमालेका उम्मेदवारले १४/१४ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।
मतगणनाका ट्रेन्डले पनि बाँकी मतमा ७५ प्रतिशत बढी रविले नै ल्याउने देखाएको छ । यस्तोमा कांग्रेस र एमालेका उम्मेदवारको भने पहिले आएको जति मत पनि नआउने प्रस्ट भएको छ ।
मंसिर ४ मा कांग्रेसका उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याएर दोस्रो स्थानमा आएका थिए । तर, यसपटक जीतनारायण श्रेष्ठ गणना गर्न बाँकी मतमा ६ हजार ल्याएर १४ हजार कटाउने नजिक पनि नपुग्ने देखिएको छ ।
एमालेका कृष्णभक्त पोखरेलले ४ मंसिरमा १४ हजार ६५२ मत ल्याएका थिए ।
तर, उपनिर्वाचनमा एमालेका रामप्रसाद न्यौपानेले पनि पहिले जति मत नपाउने प्रस्ट भएको छ ।
उनले गणना हुन बाँकी मतमा ६ हजार कटाए मात्रै पहिलेको भन्दा मत बढाउन सक्छन् । तर, रविलाई एकलौटी रूपमा खसेको भोट हेर्दा उनले अब ६ हजार पाउने सम्भावना देखिँदैन ।
४ मंसिरमा रविले १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरले यही क्षेत्रबाट जितेका थिए । तर, नागरिकता प्रकरणमा उनको सांसद पदसँगै गृहमन्त्री पद पनि गएको थियो ।
पाँच महिनालगत्तै उपनिर्वाचन हुँदा रविले झन् शानदार ढंगले जीत दर्ता गरेका हुन् ।
कम मत खस्दा उनले मत र मतान्तर दुवै बढाउने देखिँदा स्थानीय उम्मेदवार उठाएर मत बढाउने आशा गरिएका कांग्रेस र एमालेका उम्मेदवारको बिजोग स्थिति भएको छ ।
घरघरसम्म संगठनको जालो भएका कांग्रेस र एमालेले जिल्लाको राजनीतिमा चिनिएका र टोलटोलसम्म सम्पर्क भएका स्थानीय उम्मेदवारलाई उठाउँदा पनि पहिलेको जति मत ल्याउन नसक्ने देखिएको छ ।