नक्कली शरणार्थी प्रकरणमा जोडिएका एमाले सांसद टोपबहादुर रायमाझी ११ दिनपछि मिडियासामु देखा परेका छन् । ११ दिनसम्म फरार रहेका रायमाझी आइतवार बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।
सोमवार म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएका रायमाझी हसिमुख देखिएका हुन् । ढाकाटोपी, कोर्ट र पाइनटमा देखिएका उनले हात हल्लाएर अभिनन्दन गरेका थिए ।
यस्तो गम्भीर अपराधमा मुछिएका टोपबहादुरको हाउभाउ हसिलो थियो । राजनीतिक बन्दी जेलबाट रिहा हुने बेलामा जस्तो उनले मिडियासामु हात उठाएर अभिवादन गरेका थिए ।
गत मंसिरको चुनावमा अर्घाखाचीबाट प्रत्यक्ष निर्वाचित रायमाझी वैशाख २० देखि फरार थिए । नक्कली शरणार्थी प्रकरणमा उनका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् ।
शरणार्थी प्रकरणमै यसअघि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने मास्क लगाएरमात्रै मिडियासामु देखिने गरेका छन् ।

