पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा डेढ खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेर उठाउन नसकेको यस्तो रकम १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४८ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तो कर्जा प्रवाहको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूकै छ । वाणिज्य बैंकहरूले मात्रै यो अवधिसम्ममा ४८ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर प्रवाह गरेको कर्जा नै ४३ खर्ब २० अर्ब रुपैयाँ छ ।
हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २.२३ प्रतिशत छ । यस्तो कर्जा गत वर्षको वैशाखसम्मको तथ्यांकमा १.४९ प्रतिशत मात्रै थियो ।
वाणिज्य बैंकहरूको मात्रै खराब कर्जा ५५ अर्ब रुपैयाँबाट बढेर ९६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । विकास बैंक, फाइनान्सको खराब कर्जा वाणिज्य बैंकको तुलनामा बढी रहेको छ । विकास बैंकको औसत खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढाउनेमा फाइनान्स कम्पनी अगाडि छन् ।
फाइनान्स कम्पनीको खराब कर्जाको औसत दर नै ९.१९ प्रतिशत पुगेको छ । फाइनान्स कम्पनीहरूले कुल कर्जाको हिस्सा विकास बैंकको तुलनामा कम हुने भए पनि खराब कर्जा दर भने बढी छ ।
खराब कर्जा थुपार्नेमा हिमालय बैंक सबैभन्दा अगाडि
पछिल्लो समय ऋण लिएर नतिर्नेको संख्या बढेसँगै बैंकहरूलाई खराब कर्जाको व्यवस्थापनसमेत टाउको दुखाइको विषय बनेको छ ।
एउटै वाणिज्य बैंकको खराब कर्जा ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार खराब कर्जा थुपार्नेमा सबैभन्दा अगाडि हिमालयन बैंक छ ।
खराब कर्जा धेरै हुने बैंकको सूचीमा कृषि विकास बैंक समेत छ । यो बैंकको खराब कर्जाको दर ४.२० प्रतिशत पुगेको छ । सरकारी बैंक नेपाल बैंकको पनि खराब कर्जा दर ४.१६ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि यसको रिकभरी हुन समय लाग्दा अरू बैंकको तुलनामा खराब कर्जा बढी देखिएको हो ।
पछिल्लो तथ्यांकअनुसार खराब कर्जा सबैभन्दा कम बनाउनेमा भने एभरेष्ट बैंक छ । यो बैंकको खराब कर्जा दर जम्मा ०.७० प्रतिशत रहेको छ ।
त्यसपछि कम खराब कर्जा कायम गर्न सक्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको खराब कर्जा दर ०.८५ प्रतिशत मात्रै छ ।
पछिल्लो समय बैंकहरूको खराब कर्जा बढिरहेको छ । पछिल्लो ६ महिनादेखि यस्तो खराब कर्जा अस्वाभाविक रूपमा बढेको देखिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
उनका अनुसार ऋण नतिर्ने र बाध्यताले तिर्न नसक्नेको दर बढेका कारण खराब कर्जाको तथ्यांक पनि पछिल्लो २ वर्षदेखि उकालो लागेको हो ।
अर्थतन्त्रको अवस्था कमजोर भएको र आन्तरिक र बाह्य कारणको प्रभावले बैंकहरूले पनि केन्द्रीय बैंकको निर्देशन पालना नगर्दा खराब कर्जा बढ्दै गएको देखिन्छ ।
यस्तो खराब कर्जा घटाउन बैंकको रिकभरी स्थिर हुनुपर्ने, नन बैंक एसेट राइटअप हुनुपर्ने, लोन लस प्रोभिजनका लागि केन्द्रीय बैंकले दिएको निर्देशन कडाइका साथ पालना गर्नुपर्ने पोखरेलको भनाइ छ ।
केन्द्रीय बैंकले जोखिम भारको व्यवस्थालाई निर्देशनबाटै सम्बोधन गर्ने प्रयास पनि गरिरहेको छ । पछिल्लो समय बढिरहेको यस्तो खराब कर्जा आगामी महिना घटेर आउँछ कि भन्ने अपेक्षा गर्दै काम भइरहेको छ ।
छिमेकी मुलुक भारतमा पनि केही समय अगाडि १० प्रतिशतसम्म खराब कर्जा पुगेको थियो । नेपालमा कडाइका कारण नै स्थिति नियन्त्रण बाहिर गइनसकेको पोखरेलले बताए ।
बैंकहरूले गरेको लगानी जोखिम क्षेत्रमा गएका कारण फिर्ता नआउँदा उत्पन्न समस्या समाधान गर्ने जिम्मा सम्बन्धित बैंकको हो ।
सम्बन्धित बैंकले नै ऋणको वर्गीकरण गरेर जानुपर्ने हुन्छ । बैंकहरूले भाका नाघेको एक महिनादेखि नै त्यो ऋण रकमको प्रोभिजनिङ गर्दै जानुपर्छ ।
१ वर्ष भाका नाघेको ऋण खराब कर्जाको सूचीमा पर्ने भएकाले कति महिना नाघेको ऋणलाई कसरी वर्गीकरण गर्ने भन्ने जिम्मेवारी पनि सम्बन्धित बैंकको नै भएको पोखरेल बताउँछन् ।

