राष्ट्र बैंकले नीतिगत दरलाई ५० बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ । यससँगै ब्याजदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आइतवार सार्वजनिक चालू आवको मौद्रिक नीतिमा नीतिगत दर ५० आधार बिन्दुले घटाउने व्यवस्था गरेको हो ।
‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ,’ आइतवार सार्वजनिक आव २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख छ ।
केन्द्रीय बैंकले अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणमा लिने ब्याजदर (बैंकदर) यथावत राखेको छ ।
‘बैंक दरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ ।
भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखिएको छ ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन यसको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

