एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागका सुचना अधिकारी नवराज अधिकारीले सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेको जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन्।
यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन्।
यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ।
गत मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखेर सुन तस्करी गरेको खुलेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँच पास भएर निस्किएको सुन ट्याक्सीमा चढिसकेपछि विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

