सोमबार रातिदेखि परेको भारी वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्।
नेपाल प्रहरीले दिएकाे जानकारीअनुसार भीमदत्त, पासाङ ल्हामु, बीपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्।
हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल-बर्दिबास जोड्ने बीपी राजमार्ग अवरूद्ध भएको छ।
बीपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका-११ कालढुंगामा पनि सडक अवरूद्ध रहेको छ।
यस्तै नुवाकोटको ककनी गाउँपालिका-४ निगालमो पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरूद्ध भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका-३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडकखण्ड पनि अवरूद्ध छ।
डडेललधुराको आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो झर्दा बतुडर-जोगबुढा भित्री सडकखण्ड पनि अवरूद्ध भएको छ।
कैलाली गोदावरी नगरपालिका ४, बूढीतोला र चुरे गाउँपालिका-५ गोपालेमा सडक भत्किँदा भीमदत्त राजमार्ग अवरूद्ध छ।
प्युठानको माण्डबी गाउँपालिका १ गर्जेनीमा भालुबाङ सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ।
बागलुङ नगरपालिका-१० गलवाको पहिरोको कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध थियो।
यो सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।

