काठमाडौं— सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेका हुन् । पुस १३ गते न्यायाधीश ढकालको एकल इजलासले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।
यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि बुधबार लाई पेसी तोकिएको थियो ।
तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुवै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।
पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर गौशालास्थित ‘काठमाडौं होटल इन’मा एकै कोठामा बसेको र जबरजस्ती करणी भएको अदालतले ठहर गरेको थियो ।
अदालतले पीडित गौशाला–२६ लाई नाबालिग नरहेको ठहर गरे पनि उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर लामिछानेले करणी गरेको अदालतको ठहर छ ।
यसैबीच, सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताए ।