चितवन, फागुन ७-
चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन आजदेखि सर्भेको काम सुरु हुने भएको छ ।
सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । फागुन ४ गते भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको थियो ।
समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ।
विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए ।
सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।
गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले विमानस्थलको रनवे विस्तारका लागि हाल रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय गरेको हो ।
विमानस्थलको पूर्वतर्फ नीजि जमिन भएकोले विस्तार गर्न सक्ने अवस्था छैन । ती जग्गामा प्राधिकरणले भवन निर्माणको काम र तला थप गर्न रोक लागएको छ । विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ ।