सत्ता साझेदार प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने मन्त्रालयको टुंगो लागेको छ । गृह, अर्थ, भौतिक पूर्वाधार र सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयको टुंगो लागेको बालुवाटार स्रोतले जानकारी दियो ।
अर्थ, परराष्ट्र, सञ्चार, उर्जा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माओवादी केन्द्रले पाउने सहमति भएको छ । परराष्ट्र नारायणकाजी श्रेष्ठ र अर्थ वर्षमान पुनले सम्हाल्ने छन् ।
एमालेले भौतिक पूर्वाधार, उद्योग, कृषि, कानून, न्याय तथा संसदीय व्यवस्था, खानेपानी, महिला, बालबालिका तथा समाजकल्याण र रक्षा मन्त्रालय पाउने सहमति भएको छ ।
गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने सहमति भएको छ । गृहमा रवि लामिछाने दोहोरिँदै छन् ।
शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले बाँकी छ । फागुन २१ गते ८ बुँदे सहमतिमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा)लाई शहरी विकास र वन दिने सम्भावना छ ।
नेकपा (एकीकृत समाजवादी)ले पनि दुई मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । उसले पाउने मन्त्रालयको टुंगो लागेको छैन । मन्त्रिपरिषद् बुधवार विस्तार हुने र मन्त्रीहरूले बुधवार नै शपथ लिने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले अपरान्ह ४ बजेसम्म शपथको समय यकिन नभएको बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं बाहिर रहेकोले उनी फर्केपछि मात्र शपथ हुने स्रोतले बतायो ।

