राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रोपटक उपप्रधान एवं गृहमन्त्री बनेका छन् ।
रविले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
२०७९ पुस ११ गते लामिछाने पहिलोपटक गृहमन्त्री बनेका थिए ।
माघ १३ गते सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गरेपछि सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद पनि गएको थियो ।
मन्त्रीको रूपमा रविको पहिलो कार्यकाल ३२ दिनमै टुंगिएको थियो ।
२०८० वैशाख १० मा उपनिर्वाचनबाट रवि पुनः प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
संसद्मा आएपछि उनले सरकारमा जान कसरत गरेका थिए । आफूले चाहेको गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएका थिएनन् । ४ सय ४ दिनपछि रवि पुनः गृह मन्त्रालयमा फर्केका छन् ।
ग्यालेक्सी टीभीमा रहँदाका साझेदार जीबी राई सहकारी ठगीमा मुछिएपछि रविको नाम समेत जोडिएको थियो ।
सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।