काठमाडौँ – महाशिवरात्रिको अवसर पारेर आज एकै दिन तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आजबाट अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’, ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’ र नवल खड्का निर्देशिक ‘काँडेतार’ प्रदर्शनमा आएका हुन् ।
भिन्न कथावस्तुका यी तीन फिल्म एकसाथ रिलिज हुँदा हल विभाजनमा पनि समस्या भएको छ । यी फिल्महरूले हलमा कम शो पाएका छन् ।
प्रदर्शनमा आएकामध्ये ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने सुशन प्रजापतिले फिल्मको छायाङ्कन गरेका हुन् ।
नामका कारण सेन्सरमा निकै झमेला भोगेको यो फिल्ममा दयाहाङ नायक र खलनायक दुवै भूमिकामा देखिएका छन् । जहाँ मिरुनाले भने थारु समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्ममा पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरिएको छ ।
यता ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट रेखा ५ वर्षपछि निर्माण र अभिनयमा फर्किएकी हुन् ।
विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको फिल्मको पहिलो हाफमा कमेडी भरपुर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।
त्यस्तै ‘काँडेतार’मा नवल खड्काको साथमा गौरव पहारी, रेबिका गुरुङ, सुरबिना कार्की लगायतको अभिनय छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा यो फिल्म बनेको छ ।
तीन वटा फिल्मको कूल लगानी करीब ६ करोड हाराहारी लगानी रहेको निर्माताहरूको दाबी छ । तर त्रिपक्षीय भिडन्तका कारण ‘न्यून शो’ मा परेका यी फिल्मले लगानी उठाउन गनुपर्ने कलेक्सन करीब १४ करोड चानचुने कमाइ भने हैन । अर्कातिर यी फिल्मले प्रिमियरमा पनि औसत प्रतिक्रिया पाएका छन् ।
यहीबीचमा आजबाट नै प्रर्दशनमा आएका बलिउड फिल्म ‘शैतान’ र हलिउड फिल्म ‘कुङ्ग फु पाण्डा ४.०’ ले अर्को चुनौती थपिदिएका छन् । यी फिल्मलाई मल्टिप्लेक्स हलले पनि उच्च शो दिएका छन् ।