काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै उनले कांग्रेस सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका हुन् ।
‘घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस लाग्नु हुँदैन,’ महामन्त्री शर्माले भने, ‘कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ । धार्नी पुर्याउनेतर्फ लागौँ भन्ने पनि आउँछ । तर, धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’
सरकारमा गएका केही मन्त्रीहरूको भूमिका चित्त बुझ्दो नभए मन्त्री फेर्नुको सट्टा प्रधानमन्त्री पुष्पकमल दाहालले हतार गरेर नयाँ गठबन्धन बनाएको समेत उनले आरोप लगाए ।
‘हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भन्ने अभियोग छ,’ महामन्त्री शर्माले भने, ‘मैले प्रस्तुत गरेको प्रतिवेदनमा पनि कांग्रेसका कतिपय मन्त्रीहरूको भूमिका प्रभावकारी छ र कतिपयको छैन नै भनेको थिएँ । तर, कुन मन्त्रीको के भूमिका चित्त बुझ्दो भयो, कुन मन्त्रीलाई बिदाई गर्न जरुरी छ, कुन मन्त्रीलाई राख्ने भन्ने कुरामा एउटा मन्त्रीले शपथ ग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ?’
उनले थपे, ‘कांग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो ? कांग्रेसको एक वर्ष पुगेको थिएन । प्रधानमन्त्रीको मात्रै एक वर्ष पुगिसकेको अवस्था थियो । कम्तीमा मन्त्रीहरूको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्पमा जाऔँ भनका थियौँ । तर, प्रधानमन्त्रीज्यूले त्यसमा हतारो गर्नुभयो ।’ महामन्त्री शर्माले कांग्रेस निरन्तर जनताका मुद्दाहरु लिएर अगाडि बढिरहने बताए ।