मोरङ- मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।
पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडिरहेको छ। पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्यमात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ। सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पुर्याउन किसानलाई सहज भएको छ।
विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झन्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो।एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्बू बताउँछन्। मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेगमात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ। ‘सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको छ , सोचेअनुरूप प्रगति गर्न सकिएको छैन’, प्रमुख खकुरेलले भने।
दैनिकजसो हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ। केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स-साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउँछन्। रासस