कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको हो ।
पक्राउ परेपछि सिरोहियाले लोकतन्त्र अधिनायकवादमा परिणत भएको प्रतिक्रिया दिए ।
‘२०६२/०६३ मा लडेर ल्याएको लोकतन्त्र आज अधिनायकवादमा परिणत भयो । के यही हो लोकतन्त्र ?’, उनले भने, ‘हचुवाको भरमा अधिनायकवाद लादिएको छ । यो देशमा कानून छ भने दुई वटा राहदानी बोक्ने र सहकारी ठगी काण्डमाथि छानबिन होस् ।’
पक्राउ पर्नुअघि सिरोहियाले एक विज्ञप्ति जारी गर्दै कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू जिम्मेवार नागरिकका हैसियतले तयार रहेको बताएका थिए ।
‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिदै आएको छ’, उनले विज्ञप्तिमा भनेका छन् ।