केही समय अगाडि चितवन बसोबास गर्दै आएका गोवर्द्धन गौली अहिले लमजुङमा व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ ।उहाँले बिगतमा चितवन चिया उद्योग’ दर्ता गरेर झापाबाट चियापत्ति चितवन लगेर प्याकिङ गरी उहाँ आफैँ चियापत्ति बेच्नुहुन्थ्यो । ‘विगतमा चितवनमा साईकलमा चियापत्ति, मसाला र दालमोठ राखेर बेच्थेँ,’ उहाँ विगत सम्झनुहुन्छ । लगत्तै, उहाँले चितवनमै घरजग्गा कारोबार पनि सुरु गर्नुभयो । यस व्यवसायबाट उहाँले केही पैसा आर्जन गर्नुभयो । प्रगतिशील विचारधाराका गौलीलाई केही साथीभाइले उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिए । आफ्नै रहर र साथीभाइको हौसलाले उहाँलाई कृषिमा लाग्न प्रेरणा दियो ।

कृषि कर्मका लागि उहाँले आफ्नै पुख्र्यौली थलो, लमजुङको कुन्छालाई रोज्नुभयो । सुन्दरबजार नगरपालिका–१, कुन्छामा अहिले उहाँले ‘हिर्कुश एग्रो फर्म प्रालि’ सञ्चालन गर्नुभएको छ ।उहाँले कृषिमा ५ करोड लगानी पुगिसकेको उहाँ बताउनुहुन्छ। अहिले कागती खेतीमा जोड गर्नुभएको छ। आफ्नै नाममा रहेको २ सय रोपनी र भाडाको गरी झण्डै ४ सय रोपनी पाखो जग्गामा उहाँले व्यवसायिक कृषि कर्म अघि बढाउनुभएको छ । उहाँले मुख्यतया : व्यवसायिक कागती खेतीलाई जोड दिनुभएको छ । उहाँले ४ हजार ५ सय बोट कागती लगाउनुभएको छ । ५ सय सुन्तलाको बोट लगाउनुभएको छ । उहाँले सुन कागती–१, सुन कागती–२, तेह्रथुम लोकल जातको कागती लगाउनुभएको हो । उहाँको फर्ममा ‘हाइटेक नर्सरी’ समेत छ ।

‘हामीसँग हाइटेक नर्सरी छ । १३ वटा ‘सिड्सका मदरप्लान्ट’ छन् । यसबाट साइन निकाल्छौँ । तीनपाते सुन्तलामा जोडेर ‘ग्राफ्टिङ’ गरी बिरुवा बेच्छौँ,’ उहाँले भन्नुभयो । यस्तै, उहाँले पाइनएपल, वासिङ्टन जातको जुनार र खुखु, उन्सु, मर्कट, किन्नु र ओतो जातको सुन्तला पनि लगाउनुभएको छ । अहिले उहाँको नर्सरीमा कागती र सुन्तलाको गरी डेढ लाख बिरुवा छ ।
‘गएको वर्ष १२ लाखको बिरुवा बेच्यौँ । प्रति बिरुवा ४० रुपैयाँका दरले बेचेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसवर्ष हामीसँग डेढ लाख बिरुवा छन् । यसवर्ष ४० लाख रुपैयाँ बराबरको बिरुवा बेच्ने हाम्रो लक्ष्य छ ।’ कृषि व्यवसायमा ५ करोड लगानी भईसकेको उहाँ बताउनुहुन्छ । ‘कुल लगानीको ९५ प्रतिशत जति लगानी कागती खेतीमै छ,’ उहाँले भन्नुभयो । कागती, सुन्तला र जुनार खेती मात्र होइन, उहाँले मेवा खेती पनि गर्नुभएको छ । उहाँले भैँसीपालन र बाख्रापालन व्यवसायलाई पनि विस्तार गर्ने योजना बनाउनुभएको छ ।
- कृषि प्रेस