चितवन , असार २० – सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारमा गोताखोर तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । गत जेठ ९ गते देखि संचालन भएको सि.सं. ५ Deep Water Diving (गोताखोर) तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ रहनु भएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सासंद कृष्ण प्रसाद सिलवाल, चितवन र गोरखा जिल्लाका स्थानीय पालिकाका प्रमुखहरु, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक बंशिराज दाहाल, चितवन, धादिङ्ग र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना नं. ६ बाहिनी अड्डा बैरेनी धादिङ्गका वाहिनीपति सहायक रथी रोज प्रताप ज.ब.रा. , सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरिक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनि मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगर, चितवन, धादिङ्ग र गोरखा जिल्लाका विभिन्न सुरक्षा निकायका कार्यालय प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

ईच्छाकामना गाउँपालिका वडा नं. ४, कुरिनघाट स्थित त्रिशुली नदिमा प्रशिक्षार्थीहरुद्वारा प्रर्दशन गरीएको जल उद्धार सम्वन्धि अभ्यासको अवलोकन पछि प्रमुख अतिथी मन्त्री श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । मनसुनको सुरुवात संगै हुने विपद्को सामना गर्न तयारी अबस्थामा रहन उहाँले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले वि.सं. २०६९ सालमा पहिलो पटक मित्र राष्ट्र बंगलादेशमा २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई गोताखोर तालिम प्रदान गराए पश्चात वि.सं. २०७६ साल देखि भने नेपालमा नै गोताखोर तालिमहरु संचालन गरिँदै आएको कुरा जानकारी गराउनु हुँदै विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालले वाहिनी स्तरमा ८ वटा खोज तथा उद्धार टिमहरु, विपद् डेडिकेटेड ९ वटा वेशहरु र देशभरि ९ स्थानमा गोताखोर टोलीहरु आवश्यक साधनस्रोतहरु सहित परिचालन गरिएको बताउनु भयो ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् तालिम शिक्षालय, कुरिनटारका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवादन ज्ञापन गर्नु भएको थियो ।
बागमती प्रदेश सरकारको सहयोगमा विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा संचालित ३६ दिन अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाईहरुबाट छनौट गरिएका १९ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी भएका थिए ।

