काठमाडौं, असार २७- हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो। जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउन स्थानीयहरुलाई आग्रह गरिएको छ ।