चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोर हरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।
पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उनले भने–‘वाटर ड्रोनको पनि प्रयोग गरेका छौँ ।’
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, शुक्रवार १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।

