रौतहट, साउन , ७ – सर्लाहीमा गएराति एक पूर्वमन्त्रीको आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
सर्लाहीको चन्द्रनगर गाँउपालिका १ रतनपुरमा गएराति ८० वर्षिय रामचन्द्र रायको हत्या भएको हो । आफ्नो घरमा सुतिरहेका पूर्व मन्त्री रायलाई अज्ञात समुहले टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
एक तल्ले घरको आफ्नै खाटमा सुतिरहेका पूर्वमन्त्री रायलाई टाउकोको बायाँपट्टि धारिलो हतियार प्रहार भएको थियो । उनी ओछयानमै मृत अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
८० वर्षिय राय ३० वर्ष अघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । हत्या पश्चात प्रहरीले धनुषा लालगढबाट अनुसन्धानका लागी तालिम प्राप्त कुकुर झिकाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।