चितवन , भदौ ११- कवि , साहित्यसर्जक , शिक्षक र संचारकर्मी विपिन पाठकको पहिलो कवितासंग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकापर्ण हुने भएको छ ।
यहीं भदौ १४ गते शुक्रबार दिउँसो ४ बजे माडी -४ स्थित रेडहिल पार्कमा मरुभूमि वासन्तीयाम लोकापर्ण कार्यक्रम हुने भएको हो । इन्डिगो इन्क प्रा.लि. काठमाडौंले कवि पाठकको पहिलो कृतिका रुपमा प्रकाशन गर्न लागेको कविता संग्रहमा ४० वटा कविता रहेका छ्न ।
सीमान्तकृतको आवाज, असमानताप्रतिको विद्रोह, कर्मीवर्गप्रतिको विशेष प्रेम, राजनीतिक विचलन, सुशासनका लागि खबरदारी, प्रकृति र वातावरण संरक्षणलगायतका सन्देशमुलक कविता संग्रहमा रहेका छ्न ।
६० को दशकदेखि कविता लेखनमा सक्रिय पाठक समाज, समसामयिक परिवेश र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गर्न रुचाउनुहुन्छ । प्रगतिशील लेखक संघ चितवन शाखाका पूर्वअध्यक्ष कवि पाठक साहित्य सङ्गम चितवनका पूर्व सहसचिव पनि हुनुहुन्छ ।
माडी सहित जिल्लाका विभिन्न एफ.एम. रेडियोमा साहित्यिक कार्यक्रम प्रस्तोता तथा अनलाइन र पत्रपत्रिकामा समाचार लेखन लगायतका अनुभव रहेका पाठक हाल विश्वप्रकाश मावि भरतपुरमा शिक्षण गर्नुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गर्नुभएको छ ।