रेशम सापकोटा / पत्रीका-प्रेस
माडी, चितवन — असार १३
माडी नगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको केन्द्र चक्रधाम परिसरमा आज एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। चक्र तिर्थधाम समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १४४ वटा रुद्राक्षका बिरुवा रोपिएका छन्। यी बिरुवाहरू कास्की वन कार्यालयबाट निःशुल्क रूपमा प्राप्त गरिएका थिए।
कार्यक्रममा माडी इको लायन्स क्लब, माडी जेसिस, वडा नं. ४ का जनप्रतिनिधि तथा कर्मचारी, स्थानीयवासी, नगरप्रमुख ताराकाजी महत, वडा अध्यक्ष माधव चापागाईं, र अन्य नगर कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता चक्र तिर्थधामका अध्यक्ष भागीरथ बस्यालले रुद्राक्षको धार्मिक महत्वसँगै यसको वातावरणीय मूल्यबारे प्रकाश पार्दै भन्नुभयो, “रुद्राक्ष न केवल आध्यात्मिक ऊर्जा प्रवाहमा सहायक हुन्छ, यसले वातावरणमा अक्सिजनको सन्तुलन कायम राख्न पनि सहयोग गर्छ। चक्रधामको पवित्रता र स्वच्छता यिनै धार्मिक वृक्षहरूद्वारा अझ प्रगाढ हुने विश्वास छ।”
त्यसैगरी, वडा नं. ४ का अध्यक्ष माधव चापागाईंले चक्रधामजस्ता धार्मिक स्थलमा वृक्षारोपण कार्यक्रमले संरक्षण र प्रचारमा नयाँ आयाम थप्ने धारणा व्यक्त गर्नुभयो। “स्थानीयको सक्रिय सहभागिता बिना यस्ता कार्यक्रम सम्भव हुँदैन,” उहाँले भन्नुभयो।
नगरप्रमुख ताराकाजी महतले माडीको समग्र विकासको दिशामा यस्तो कार्यक्रम प्रेरणादायी रहेको बताउँदै भन्नुभयो, “भौतिक पूर्वाधारको विकाससँगै धार्मिक, कृषि र पर्यटन क्षेत्रलाई समन्वय गरेर अघि बढ्ने हाम्रो नीति हो। चक्रधाममा रुद्राक्ष जस्ता पवित्र वृक्ष लगाउनु वातावरणीय सन्तुलन र धार्मिक पर्यटन प्रवर्द्धनको दिशामा महत्वपूर्ण पाइला हो।” उहाँले चक्रधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
माडी इको लायन्स क्लबका प्रतिनिधिहरूले वातावरणीय संरक्षणको अभियानमा चक्रधामजस्ता पवित्रस्थलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहकार्य निरन्तर हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा चक्रधाम समितिले कास्की वन कार्यालयलाई निःशुल्क बिरुवा उपलब्ध गराएकोमा विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहकार्यको अपेक्षा राखेको जनाएको छ।
यो कार्यक्रमले धार्मिक चेतना र वातावरणीय संरक्षणबीचको सम्बन्धलाई मजबुत बनाउँदै, माडीलाई धार्मिक पर्यटनको सम्भावित केन्द्र बनाउने दिशामा नयाँ आशा थपेको छ।
