रेशम सापकोटा – पत्रीका प्रेस ।
भरतपुर, चितवन — राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले एक महिने वृक्षारोपण अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ। अभियानको उद्घाटन भरतपुर २९ स्थित मदन आश्रित स्मृति पार्कमा विभिन्न प्रजातिका बिरुवा रोप्दै गरिएको हो।

यो अभियान राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पहलमा देशभर सञ्चालन भइरहेको वृक्षारोपण कार्यक्रमअन्तर्गत परेको हो। केन्द्रीय सदस्य शंकर अधिकारीका अनुसार, संघले प्रत्येक वर्ष यही समयमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि एक महिने वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ।
भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीका अनुसार, उद्घाटन कार्यक्रममा कपुर, निम, चिउरी, अम्बा, कागती, अमला, हर्रो, बर्रो, तेजपत्ता, विरेन्द्र फुल, धुपी लगायतका झण्डै २०० वटा बिरुवा रोपिएका छन्।

अभियान शुभारम्भ कार्यक्रम अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, पार्टीका केन्द्रीय सदस्यहरू प्रभा बराल, कृष्णभक्त पोखरेल, बागमती प्रदेशका उपाध्यक्ष दावादोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम विष्ट, सचिव प्रकाश ढुंगाना लगायतका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
त्यस्तै, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराई, जिल्ला अध्यक्ष झलकराज भट्ट, बागमती प्रदेश कमिटी सदस्य एवं महानगर इन्चार्ज कृष्णप्रसाद अधिकारी, नेतृ रोजिना भट्टराई, निवर्तमान केन्द्रीय सदस्य शिव ढकालसहित जिल्ला कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
वातावरणीय सन्तुलन कायम राख्ने र हरित अभियानलाई बल पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो अभियान भरतपुरको विभिन्न वडामा निरन्तरता दिइने युवा संघले जनाएको छ।