रेशम सापकोटा — पत्रीकाप्रेस
भरतपुर, चितवन — धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूणर् गणेशधाम परिसरमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण, भरतपुर–२, आपटारी चितवनका प्रहरी टोलीले एकदिने सरसफाइ तथा गोडमेल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३५ जना प्रहरी सदस्यहरू, समितिका पदाधिकारीहरू, धामका कर्मचारी तथा स्थानीयवासीहरू सक्रिय रूपमा सहभागी भएका थिए।

कार्यक्रमको मुख्य लक्ष्य धार्मिक स्थलको सरसफाइसँगै परिसरको हरियाली र वातावरणीय सौन्दर्यमा वृद्धि गर्नु रहेको थियो। सहभागीहरूले परिसर वरपरका विरुवा गोडमेल गर्नुका साथै झाडी सफा गर्ने, कचरा व्यवस्थापन र सम्पूर्ण परिसर सफाइमा तत्परता देखाएका थिए।

गणेशधाम संरक्षण समिति अध्यक्ष दिनेश कुमार चुकेले भने, “धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हामी सबैको साझा दायित्व हो। आज सशस्त्र प्रहरी बलका सदस्यहरूको यो सक्रिय सहभागिताले हाम्रो काममा थप उत्साह थपेको छ। यस्तो सहकार्यले सुरक्षाकर्मी र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ।”
उनले थपे, “हामी गणेशधामलाई व्यवस्थित, हरियालीपूर्ण र पर्यटकमैत्री स्थल बनाउन निरन्तर लागिपरेका छौं। यस प्रक्रियामा सुरक्षाकर्मीहरूको साथ पाउनु हाम्रो लागि ठूलो स्रोतशक्ति हो।”

कार्यक्रममा सहभागी सशस्त्र प्रहरीका सदस्यहरूले पनि धार्मिक र सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक पहलहरूमा सँधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयहरूका अनुसार, “गणेशधाम अहिले विकासको नयाँ चरणमा प्रवेश गरेको छ। यस्ता सरसफाइ तथा संरक्षणका कामहरूले मात्र धार्मिक स्थलको संरक्षण हुने होइन, वरपरको वातावरण पनि सफा र आकर्षक बन्दैछ। यसले पर्यटकहरूलाई पनि आकर्षित गर्नेछ।”
कार्यक्रमको समापनमा समितिले सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सहकार्य र समर्थनको अपेक्षा गरेको छ।
यो कार्यक्रमले धार्मिक स्थलमा सामाजिक उत्तरदायित्वसहित सुरक्षाकर्मी र स्थानीयबीचको सहकार्यलाई अझ सुदृढ बनाएको र सामुदायिक सद्भाव एवं एकताको सन्देश प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।