काठमाडौँ । सुनको भाउ आकाशिएको समाचार नेपाली सञ्चारमाध्यममा नयाँ होइन । तर अलजजीराले दक्षिण एसियाका मानिसहरुको विवाह नै प्रभावित भएको लामो रिपोर्ट प्रकाशित गरेको छ ।
दक्षिण एसियामा सुनको मूल्य लगातार आकाशिदै जाँदा विवाहका लागि शुद्ध सुनका गहना किन्न धेरै परिवारलाई कठिन बन्दै गएको छ। यही कारण अहिले धेरै परिवारले ‘वन ग्राम गोल्ड’ भनिने सुनको जलप लगाइएका वा नक्कली गहनातर्फ रुचि बढाएको अलजजीराको रिपार्टमा दावी गरिएको छ ।
अल जजीरा लेख्छ–भारत, नेपाल, बंगलादेश र पाकिस्तानजस्ता देशमा विवाह संस्कृतिसँग सुनको गहिरो सम्बन्ध छ । बेहुलीलाई सुनका गहना लगाउने परम्परा सामाजिक प्रतिष्ठा र पारिवारिक सम्मानसँग जोडिने भएकाले सुनको माग उच्च रहने गर्छ । तर पछिल्ला महिनामा सुनको मूल्य ऐतिहासिक रूपमा बढेपछि मध्यमवर्गीय र निम्न आय भएका परिवारहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।
‘वन ग्राम गोल्ड’ वा सुनको जलप चढाइएका गहनाहरू हेर्दा वास्तविक सुनजस्तै देखिने तर निकै सस्तो पर्ने भएकाले लोकप्रिय बन्दै गएका छन् । यस्ता गहना विशेषगरी विवाह, इन्गेजमेन्ट र अन्य सामाजिक समारोहका लागि प्रयोग गर्न थालिएको छ।
व्यापारीहरूका अनुसार पहिले शुद्ध सुनका सेट खोज्ने ग्राहकहरू अहिले डिजाइन मिल्ने तर कम मूल्यका विकल्प रोजिरहेका छन् । धेरै परिवारले सामाजिक दबाब र आर्थिक यथार्थबीच सन्तुलन खोज्न यस्ता गहनालाई समाधानका रूपमा लिएका छन्।
विश्लेषकहरूका अनुसार सुन केवल गहना मात्र नभई दक्षिण एसियामा बचत र सुरक्षाको प्रतीक पनि भएकाले यसको मूल्यवृद्धिले सामाजिक व्यवहारमै परिवर्तन ल्याइरहेको छ। अहिलेका बेहुलीहरूका लागि सौन्दर्य र परम्परा जोगाउँदै खर्च घटाउने उपायका रूपमा ‘वन ग्राम गोल्ड’ नयाँ रोजाइ बनेको छ । कवाडीमा भ्याट संकलन गर्ने जिम्मेवारी उद्योगीलाई दिनुपर्छ । राजस्व पनि बढ्छ र चोरी निकासी पनि घट्न सक्छ ।

