अजित अधिकारी – चितवन । हुलाकी सडक रुट अन्तरगत पर्ने माडी नगरपालिका ७ स्थित कृतनपुर र देबेन्द्रपुर जोड्ने पतरे खोलामा पुल निर्माण कार्य नहुँदा स्थानीयबासीलाई सास्ती भएको छ ।
बर्षातको समयमा औसधि उपचार एवं अन्य प्रशासनिक कामका लागि भरतपुरदेखि माडी र माडीदेखि भरतपुर आवतजावत गर्न समेत समस्या भएको छ । पुल निर्माणको लागि ठेक्का पाएको लोहनी कन्टक्सन प्रा.लि अहिले आफ्नो जिम्मेवारीबाट बाहिरिएको देखिन्छ । तरपनि यस विषयमा माडी नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयबासीको बुझाइ छ ।
उता यस विषयमा आँफुहरु बारम्बार ठेकेदारसंग पुल निर्माणका लागि ताकेता गर्ने काम गरिरहेको र सम्बन्धित निकायमा समेत अबगत गराएको माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
उहाँका अनुसार, हुलाकी सडक रुट अन्तरगतको ठेक्का भएको हुँदा समयमा नै काम सम्पन्न नगर्ने ठेकेदार र कम्पनीको नाम कालोसूचीमा राख्ने अधिकार स्थानीय निकायलाई नभएको बताउनुभयो । निर्माण पक्षलाई छिटै बार्तामा बोलाएर अर्को निर्माण पक्षलाई ठेक्का दिने सहमतिमा काम गराउन पहल गरिने उहाँको भनाइ छ ।
अहिलेसम्म माडीको पतरे खोलामा ५ प्रतिशत काम समेत भएको छैन । भने पुल निर्माणका लागि पिलरमा राखिएका रडहरु समेत खिया लागेर काम नलाग्ने भएका छन् । यस्तै अहिलेसम्म पतरे, घाँगर, बगही लगायतका खोलाहरुमा पुल निर्माणको कार्य सम्पन्न हुन सकिरहेको छैन ।
-रासस

