काठमाडौँ – रोल्पामा जीप दुर्घटना भएर २० जनाको मृत्यु भएको तीन दिनपछि सरकारले घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट सिंगो राष्ट्र शोकमग्न भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ।’
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयमार्फत लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको र समितिलाई दिइएको तीन दिनको म्याद शनिबर सकिने विज्ञप्तिमा उल्लेख छ।
समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारको एकल नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि शनिबार नै विज्ञप्ति जारी गरी दु:ख व्यक्त गरेको थियो।
ढिला गरी दु:ख व्यक्त गरेको भन्दै सरकारको र रास्वपाको आलोचना भएको छ।


