काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराएर नयाँ महशुल दर सार्वजनिक गरेका छन् ।
ग्राहकसँग लिने नयाँ महशुल दर दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएसँगै सम्बन्धित सेवाप्रदायले ग्राहकबाट लिन पाउने शुल्क र इन्टरनेटको गतिसमेत सार्वजनिक भएको छ ।
प्राधिकरणको अद्यावधिक विवरणअनुसार इन्टरनेट कम्पनीहरूले तीव्र गतिको इन्टरनेटतर्फ ग्राहक आकर्षित गर्न न्यूनतम मूल्यमा विभिन्न ब्यान्डविथका प्याकेजहरू तय गरेका हुन् ।
यसरी नयाँ दर सार्वजनिक गर्नेमा वर्ल्डलिंक, भायोनेट, सुबिसु, नेपाल एयरलिंक, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, फर्स्टलिंक, निम्बल नेटवर्क, इनोभेटिभ कम्युनिकेसन, स्विफ्ट नेट र एननेट रहेका छन्।
स्वीकृत नयाँ दरअनुसार बलियो बजार हिस्सा बनाउने सेवाप्रदायकले उच्च गतिको इन्टरनेटमा प्रतिस्पर्धात्मक शुल्क निर्धारण गरेका छन् । यस्तो शुल्क निर्धारण गर्नेमा वर्ल्डलिंकले १:२ को न्यून सेयरिङ रेसियोमा २०० एमबीपीएस मासिक १ हजार १९०, ३०० एमबीपीएस १ हजार ३००, ५०० एमबीपीएस १ हजार ४०० र ६०० एमबीपीएस मासिक १ हजार ६६७ रुपैयाँमा उपलब्ध गराउने भएको छ।
भायोनेटले १०० एमबीपीएसको मासिक १ हजार २६१, २०० एमबीपीएसको १ हजार ५२६, ३०० एमबीपीएसको १ हजार ८३६ र ६५० एमबीपीएसको मासिक २ हजार ६९९ रुपैयाँ तोकेको छ।
सुबिसुले १ हजार ९०० जीबी डाटासहितको ४५० एमबीपीएसका लागि मासिक १ हजार ८५८ र २ हजार जीबी डाटासहितको ६५० एमबीपीएसका लागि मासिक २ हजार १२४ रुपैयाँ निर्धारण गरेको छ भने कम गतिका प्रयोगकर्ताका लागि २० देखि ३०० एमबीपीएस सम्मका फलब्याक प्याकेज मासिक ७५१ देखि १ हजार ५१७ रुपैयाँसम्म तोकेको छ। फलब्याक प्याकेजमा तोकिएको डाटा सकिएपछि इन्टरनेट पूरै बन्द हुनुको साटो गति घटेर चल्ने गर्छ ।
अन्य सेवाप्रदायकहरूले पनि घरायसी तथा मध्यम गतिको इन्टरनेटका लागि नयाँ दर कायम गरेका छन्। पोखरा इन्टरनेटले २० एमबीपीएसको मासिक ५८९ रुपैयाँ (वार्षिक ५ हजार ८९९ रुपैयाँ) र १००एमबीपीएसको मासिक ९२७ रुपैयाँ निर्धारण गरेको छ।
एभरेष्ट वायरलेसले होम प्याकेजअन्तर्गत १२० एमबीपीएसको मासिक ७५८ रुपैयाँ र ३०० एमबीपीएसको १ हजार २१७ रुपैयाँ तय गरेको छ फर्स्टलिंकले २०० एमबीपीएसको १ हजार ११ र ३०० एमबीपीएसको १ हजार १७९ रुपैयाँ तोकेको छ ।
स्विफ्ट नेटले १०० एमबीपीएसको १ हजार र १७० एमबीपीएसको १ हजार ५०० रुपैयाँ तोक्दा एननेटले ५० देखि ४०० एमबीपीएस सम्मका लागि मासिक ८०० देखि १ हजार ६०० रुपैयाँसम्म दर निर्धारण गरेको छ ।
निम्बल नेटवर्कले ५० देखि २०० एमबीपीएसका लागि ७९६ देखि १ हजार ६८१ रुपैयाँ र इनोभेटिभ कम्युनिकेसनले १५० एमबीपीएसको ९०० तथा २०० एमबीपीएसको १ हजार १०० रुपैयाँ शुल्क सार्वजनिक गरेको छ ।
दुर्गम तथा पर्यटकीय क्षेत्रतर्फ नेपाल एयरलिंकले देशभरका लागि २० एमबीपीएसको मासिक १ हजार ४० रुपैयाँ तोक्दा हिमाली क्षेत्रका लागि भने छुट्टै हटस्पट दर लागू गरेको छ । जसअनुसार लुक्ला र नाम्चेजस्ता तल्लो हिमाली क्षेत्रमा १० जीबीको ४३४ रुपैयाँ ८० पैसा र २५ जीबीको २ हजार १७३ रुपैयाँ ९० पैसा तोकिएको छ भने त्याङबोचे र पाङबोचेमा १० जीबीको ६१९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
डिंगबोचे, लोबुचे, गोरकसेप र गोक्यो लगायतका उच्च हिमाली क्षेत्रमा १० जीबीको ८६९ रुपैयाँ ५६ पैसा र १५ जीबीको १ हजार ३९१ रुपैयाँ ३० पैसा शुल्क तोकिएको छ ।
प्राधिकरणका अनुसार सबै कम्पनीहरूको स्वीकृत महशुलमा प्राविधिक सहयोग तथा मर्मत शुल्क समावेश गरिएको छ। यद्यपि, सार्वजनिक गरिएका यी सबै दरहरूमा सरकारी नियमानुसार लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) र मूल्य अभिवृद्धि कर (भ्याट) भने अतिरिक्त लाग्नेछ ।

