काठमाडौँ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले सञ्चारमाध्यमको गतिविधिलाई नियमन नगर्ने बताएका छन्।
शुक्रबार आयोगले स्थापन गरेका प्रेस कार्यालयको शुभारम्भ गर्दै आयुक्त थपलियाले सञ्चार माध्यमले स्वतन्त्र रुपमा निर्वाचनको समाचार लेख्ने बताए।
उनले आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे।
आयुक्त थपलियाले कार्यालय स्थापनाको विषयमा बोल्दै भने ‘निर्वाचनसँग मिडियाले सम्बन्धित खोज्ने सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढंगले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो।
यसका अलवा प्रेस अफिबाट आम नागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्री पनि उत्पादन गरी सम्प्रेषण हुनेछन्।’
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्राबारदेखि सञ्चालनमा ल्याएको छ ।
उनले सञ्चारमाध्यमको भूमिकाबारे स्पष्ट पार्दै भने,‘प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममाथि अनुगमन गर्छ।
सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूणर् अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रुपमा ती निकायबाट प्रतिनिधि राखिएको छ।’
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवालासमक्ष प्रभावकारी तवरले सम्प्रेषण गर्न सम्यन्त्र तयार गरिएकाे जनाएकाे छ।
आयाेगले सञ्चारमाध्यमसँग उचित सहकार्य गर्नर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारीरुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न कार्यालय स्थापना गरिएको जनाएको हाे।
आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधाराणा पत्र बमोजिम कार्यालय स्थापना गरेको जनाएको छ।

