मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सत्ता साझेदार ८ दलको बैठक आइतवार बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक राखिएको माओवादी स्रोतले जानकारी दियो ।
बिहीवार हुने राष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले केन्द्रदेखि प्रदेशसम्म प्रशिक्षण सम्पन्न गरिसकेको छ ।
राष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् । विश्वासको मत लिने कार्यक्रम चैत ५ गतेपछि मात्र हुने भएको छ ।
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १३ गतेअगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

