राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सम्बन्धमा राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन् । रिटमाथि प्रारम्भिक सुनुवाइका लागि मंगलवार पेशी तोकिएको अधिवक्ता सफलले लोकान्तरलाई जानकारी दिए ।
निष्क्रिय नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट लिएको र त्यसको दुरुपयोग गरेकाले उनका सम्बन्धमा अनुसन्धान गरेर मुद्दा दायर हुनुपर्ने रिट निवेदकको माग छ ।
तर, सरकारले यस विषयमा अनुसन्धान सकेर मुद्दा नचलाउने निर्णय गरेको हो ।
मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन पनि रिट निवेदनमा माग गरिएको छ ।

