प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका १० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रममा सहमति गरेको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको र आजै सार्वजनिक गरिने जानकारी दिए ।
बेलुकी ५ बजेसम्म दल र नेताहरूले सुझाव दिनसक्ने र आजै न्यूनतम् साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको उनले बताए ।
‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रुपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुल भुत रुपमा सहमति भएको छ’ बैठकपछि महासचिव गुरुङले भने ।

