संघीय संसद अन्तर्गत सोमवार दुवै सदनको बैठक बस्दैछ ।
दुवै सदनको बैठक सोमवार दिउँसो १ बजे बस्नेछ ।
सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नेछन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल ‘पार्वती’ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

