नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको ग्रासरुट अभियानमार्फत् पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरेका हुन् ।
एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनको भनाइ छ । उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए। वैशाख १० गते सम्पन्न उपचुनावमा एमाले तीनवटै निर्वाचन क्षेत्रमा पराजित भएको थियो । चितवन-२, तनहुँ-१ र बारा-२ मा भएको उपचुनावमा एमाले उम्मेदवार तेस्रो भएका छन् ।
“खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ”, अध्यक्ष ओलीले भने । उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गरे । “साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ”, उनले भने, “यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।”
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत् तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।

