पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई बुधवार बिहान खाँणसँगै पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।
खाँणलाई आजै बिहान उनकै निवासबाट पक्राउ गरिएको थियो । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ ।
प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।
यसमा जोडिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्र राई पनि पक्राउ परेका छन् ।
प्रकणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । गत बुधवार पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।

