प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारका पालामा पहिचान गरिएका ४२९ जना वास्तविक शरणार्थी रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू सरकारबाट हटेपछि ९७५ जना नक्कली शरणार्थीको नाम समावेश गरिएको दाबी गरे । ‘४२९ जना खास शरणार्थी नै थिए । त्यसपछि कागज फेरियो । माथिको कभर उही राखियो, तल व्यक्तिको सूची चाहिँ फेरियो,’ ओलीले भने, ‘पहिले नै उजुरी परेको रहेछ । त्यतिबेलै केही मान्छे गिरफ्तार भएका रहेछन् । गिरफ्तार गरिएका मान्छेलाई छाडिएछ । केस मिलाउने प्रयास भएछ । कसको सरकार थियो त्यसबेला ? किन छाडियो ? कसको दबाबमा छोडियो ?’
उनले यो प्रकरणको शुरूआतका बेला आफूविरुद्ध मुद्दैमुद्दा रहेको भन्दै कागजसमेत हेर्न नभ्याएको दाबी गरे ।
‘मलाई पिंग खेलाकोखेलाई हुनुहुन्थ्यो । मुद्दै मुद्दा, विरोधैविरोध, भित्तामा टाँसिदिन्छु भन्या छ, धूलोमा मिलाइदिन्छु भन्या छ, न मिलाइदिने पो हो कि भन्ने अवस्था थियो,’ ओलीले तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधतर्फ इंगित गर्दै भने ।
अहिले भुइँचालोजसरी शरणार्थी प्रकरण आएको भन्दै दबाउनै नसकिनेअवस्था आएको बताए । ‘यो पचाउन सक्ने, दबाउन सक्ने केसै हैन । भुइँचालो मैले ल्याएँ भन्नु बेकार छ । आफैं आएको हो भुइँचालो । यो कुरा भोलि अझ भयावहरूपमा निस्किन्छ । आगो छोप्न सकिन्छ धुवाँ छोप्न सकिन्न,’ ओलीले थपे ।
उनले निर्दोषलाई फसाउने प्रयास भइरहेको जिकिरसमेत गरे ।
‘कोही दोषी छुट्नु हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको छ ।’
उनले आफ्ना सम्बन्धमा लागेको आरोपहरूको पनि खण्डन गरे । आफूलाई बाघसँग तुलना गर्दै ओलीले थपे, ‘बाघ भोकै मर्छ, घाँस खाँदैन ।’

