नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये एक प्रहरी सहायक निरीक्षक (असई) पनि छन् ।
रौतहटको फतुहा हर्साह- ९ घर भएका ४२ वर्षीय प्रहरी सहायक निरीक्षक निरञ्जनकुमार खरेललाई पनि प्रतिवादी बनाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोजन गरेको अभियोगपत्रमा उनलाई फरार प्रतिवादीको रूपमा कायम गरिएको छ ।
नक्कली शरणार्थी प्रकरणका प्रतिवादी सानु भण्डारीको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) को रूपमा प्रहरी प्रधान कार्यालयले असई खरेललाई खटाएको थियो ।
सुरक्षा दिनुपर्ने खालको कुनै जिम्मेवारीमा नभएका भण्डारीलाई शक्तिको दुरुपयोग गरी पीएसओ उपलब्ध गराइएको थियो ।
असई खरेलले नक्कली शरणार्थी प्रकरणमा सुमन दाहाल नामक जाहेरीवालासँग २ करोड ४७ लाख रुपैयाँ बुझेको अभियोगपत्रमा उल्लेख छ ।
‘निराजन खरेल (खनाल) भन्ने सानुको बडीगार्ड प्रहरीको असई हो । वास्तविक नाम निरन्जन कुमार खरेल हो । जम्मा २ करोड ४७ लाख रुपैयाँ दिएको हुँ,’ भन्दै सुमन दाहालले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

