नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । यसमा प्रोटोकल पनि मिलेन । पीए छोरी राख्नुभएको छ । तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव पनि छैन । अफिसियल रेकर्ड राख्ने, टिपोट गर्ने पनि कोही छैन’ ओलीले भने, ‘प्रोटोकलमा यस्तो यस्तो हुन्छ ? अब आज छोरी भोलि नातिनी लिएर जाने ?’
भारतले सीमा मिचेको छ भनेर बोल्न नसक्नु कमजोरी रहेको ओलीको आरोप छ ।
‘सीमाना मिचिने हामी बोल्न नमिल्ने, सीमाभन्दा यता आएर छिमेकी भारतको फौज बस्ने, सीमाभन्दा भारतीय फौज आयो भन्न नपाउने’ ओलीले भने, ‘के हाम्रो भूमि सुगौधी सन्धिपछि १४६ वर्ष भोगचलन गरेको होइन । यसलाई सदर गर्नुपर्छ, नक्सा, विद्धानका भनाई र सन्धिलाई प्रमाणका रुपमा पेश गर्नुपर्छ ।’

