राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली जानुभएको’ थियो भनेर दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको अभिव्यक्ति स्वतन्त्र र सार्वभौम सम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन् ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको उनले बताइन् । उक्त अभिव्यक्ति फिर्ता लिँदै संसद समक्ष आएर स्पष्ट पार्न उनले माग गरिन् । ‘हिजो एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति स्वतन्त्र, सार्वभौम सम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभएको भनेर कोही व्यक्ति विशेषलाई इंकित गर्दै भन्नुभएको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर यस किसिमका राष्ट्रिय स्वाभिमानमा आँच पुर्याउने अभिव्यक्ति दिन उहाँलाई कदापि छुट दिन सकिँदैन । प्रधानमन्त्रीले सदन समक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाइ फिर्ता लिन अनुरोध गर्दछु ।’

