चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षमा ६ वटा बाघको उद्धार गरेको छ ।
निकुञ्जका विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये ३ वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए ।
उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा १/१ वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए । उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ ।
यस वर्ष उद्धार गरिएकोमा ४ वटा भाले र २ वटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।
गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते ७ वटा बाघको उद्धार गरेको थियो । जसमध्ये २ वटा उपचारका क्रममा मरेका, ४ वटाका आनिवानिमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए ।
यस वर्ष उद्धार गरिएका बाघमध्ये २ वटा पोथी र ५ वटा भाले रहेका छन् ।
निकुञ्जको खोरमा बाघको संख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा ३ वटा र सौराहामा रहेको खोरमा २ वटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् ।

