जनकपुरधाम– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेस मिसन उत्कर्षमा पुग्न थालेको छ । एक साताभित्रै तीन पटक मधेस झरेका ओली शनिवार सप्तरी पुग्दा हजारौँ सहभागी भए ।
ओलीले पछिल्लो समय मधेस प्रदेशमा आफ्नो अभियान तीव्र बनाएका छन् भने मधेसवादी दलका साथै कांग्रेस र माओवादीका प्रभावशाली नेता तथा सांसदहरू एमाले प्रवेश गराइसक्नुभएको छ ।
शनिवार सप्तरी जिल्लाका विभिन्न पार्टीका प्रभावशाली नेताहरूलाई एमाले प्रवेश गराउन पुगेका ओलीले कन्चनरुप नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्नुभएको थियो ।
युवा संघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिमाना मिचिँदा बोल्न नसक्ने सरकारले जनताको सुरक्षा नगर्ने भन्दै एमालेलाई जिताउन आग्रह गर्नुभयो ।
केही समयअघिमात्र सीमारक्षक भनेर चिनिने तिलाठी कोइलाडीका देवनारायण यादव पनि एमाले प्रवेश गर्नुभयो ।
ओलीले मधेसलाई ठग्नेहरू जनताले चिन्नु पर्ने भन्दै एमालेविरुद्धका भ्रमहरू अब सकिएको दाबी गर्नुभयो ।
सप्तरीको मलेठमा ६ वर्षअघि एमालेको मेची महाकाली अभियानका क्रममा मधेसी मोर्चाले आक्रमण गरेपछि प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको थियो । सो घटनापछि ओली पहिलो पटक सप्तरी पुग्नुभएको हो ।

