तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्ग अन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर आजदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो ।
अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए । सडक अवरुद्ध भएपछि यताको गाडी यतै र उताको गाडी उतै रोकिएकाले केही दूरी हिँडेर यात्रुले पुनः बस चढेर यात्रा गर्न बाध्य भएको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिए ।
दैनिक माथिबाट सडकमा पहिरो खसेकाले दुईदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको हो । गण्डकी प्रदेशले रु २५ लाख बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरेको उनले बताए । दसैंको समयमा गाडी नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो ।
सडक बनेपछि साना तथा ठूला गाडी पनि निर्वाधरुपमा गुड्न थालेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । दसैंको समयमा अविरल वर्षा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको उनले बताए ।
चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै रहने व्यवस्था मिलाइ यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए ।

