काठमाडौं । सरकारले यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानविनका लागि पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिवको नेतृत्वमा विज्ञ सदस्यसहितको समिति गठन गरेको हो ।
साथै मन्त्रिपरिषद बैठकले सम्पूर्ण एयरलाइन्सहरुलाई आफ्ना विमानहरु राम्रोसँग परीक्षण गरेर मात्रै उडाउन निर्देशनसमेत दिएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न समिति बनाउने निर्णय गरेको हो ।
समितिको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहने छन् भने सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथि दीपकप्साद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंङ थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
दुर्घटनाको जाँचका लागि ४५ दिनको समय तोकिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गर्नेुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने आवश्यक कामका लागि सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले घटनाका बारेमा परिवारलाई सत्य-तथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पुर्याउन सहजीकरण गर्ने निर्णय पनि गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ‘नाइन एन – एएनसी एटीआर ७२’ विमान सेती नदी खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रुसहित ७२ जना सवार थिए । विमानमा ३ बालबालिका र ३ शिशुका साथै १५ विदेशी नागरिक सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमान ५३ नेपाली यात्रु सवार थिए । चालक दलका चार सदस्य पनि नेपाली नै हुन् । दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।
यसअघि, २०७९ जेठ १५ मा मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा यतिकै भगिनी संस्था तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

