प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रचण्डले संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरू तर्जुमा गर्न सरकारले लागिपरेको दाबी गरे।
शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा प्रचण्डले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी बढ्न प्रतिष्ठानलाई निर्देशन पनि दिए।
विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागि परेको उनको भनाइ थियो।
त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी रहेको उनले बताए।
प्रचण्डले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई सचेत गराए।

