मुस्ताङमा विश्वविद्यालय बनाउन लागिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन्।
आज (शनिबार) स्थानीय तह कर्माचारी संघ नेपालको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले मुस्ताङमा विश्विद्यालय बनाउनु भनेको विदेशीको दलाली गर्नु भएको बताए।
उनले भने, ‘यो राष्ट्रियतामाथिको प्रहार हो। मित्रराष्ट्र चीनविरुद्धको गद्दारी गर्न खोजेको हो। ३१ सालमा ठूलो स्केलमा दोहोर्याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको हो। केहो त्यो ?’
मुस्ताङमा विश्वविद्यालय बनाउन खोजेको नभई त्यहाँ विश्वविद्यालयका नाममा अर्थोकै गर्न खोजिएको आशंका गरे।
‘विदेशीहरूको खेल मैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम त्यसमा ध्यान दिएको हो। त्यहाँबाट पहिला ३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थ्यो। त्यही कुरा मुस्ताङको तल चामेभन्दा तल थियो। मार्फाको छेउमा। मार्फाको छेउबाट अब लिएर जाने लोमान्थाङभन्दा माथि।’
जहाँ मान्छे हुँदैनन् त्यहाँ विश्वविद्यालय बनाउन खोजिएको भन्दै ओलीले आपत्ति जनाए।
खास उद्देश्यका ‘पेड’ (किनिएका) मान्छेहरू मात्रै त्यहाँ बस्ने भन्दै उनले यो बहुतै खतनाक कुरा भएको पनि बताए।

