काठमाडौं— महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी ऐन विपरीतको कसूरमा मुद्दा चलाउन नसकिने निर्णय गरेका छन् ।
कार्यालयमा नायब महान्यायाधिवक्ताले दिएको रायसहितको प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीको भनाइ छ ।
‘झुटो विवरण पेश भएको भन्ने देखिएन, त्यो राहदानी विभागमा पुगेर रद्दसमेत भइसकेको रहेछ । त्यसकारण मुद्दा नचल्ने निर्णय भयो,’ उनले भने ।
गैर–कानुनी ढंगबाट लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो ।

